भरतपुरमा तीन महिना रोकियो भूमिगत विद्युतीकरण, सडक विभागको अनुमति नआएपछि काम ठप्प

196 Shares

चितवन । भरतपुर महानगरपालिकामा भइरहेको भूमिगत विद्युतीकरणको काम तीन महिनाका लागि रोकिएको छ। वर्षायामका कारण सडक विभागले सडक खन्न अनुमति नदिएपछि नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना ठप्प भएको हो।

आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार यही असार ३ गतेदेखि भदौ मसान्तसम्म भूमिगत विद्युतीकरणको मुख्य काम बन्द रहनेछ। वर्षायाममा खाल्डा खन्दा सडक भासिने, पानी जम्ने, सडकको गुणस्तर कमजोर हुने समस्या देखिने भएकाले सडक विभागले अनुमति नदिएको हो।

“हाल मुख्य कामहरू जस्तै पाइप गाड्ने, केबल हाल्ने, खाल्डा खन्ने लगायतका काम रोकिएको छ। तर, पहिले नै गाडिएको पाइपमा केवल जोड्ने, पोल गाड्ने जस्ता काम भने भइरहेको छ,” सुवेदीले बताए।

यस आयोजनाअन्तर्गत हालसम्म करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ। पुलचोकदेखि केन्द्रीय बस पार्कसम्मको सडक खण्डमा भूमिगत विद्युतीकरणको काम सकिएको छ। यस्तै, बाइपास सडक खण्डमा आधा काम पूरा भइसकेको छ भने बाँकी आधा काम बाँकी रहेको सुवेदीले जानकारी दिए।

भरतपुरको भूमिगत विद्युतीकरणका लागि करिब १ अर्ब ४० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सुरुमा १ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। यो काम भारतको टाटा प्रोजेक्ट लिमिटेडले गरिरहेको छ।

ठेक्का सम्झौताअनुसार सन् २०२४ को जनवरी २० तारिखसम्म पहिलो चरणको काम सकिनुपर्ने भए पनि आवश्यक काम बाँकी रहेकाले आठ महिनाको समय थप गरिएको छ। एसियाली विकास बैंकको आर्थिक सहयोगमा प्राधिकरणले आयोजना अघि बढाइरहेको छ।

“वर्षायाम सकिएपछि बाँकी कामलाई तीव्र गतिमा अघि बढाइनेछ। यसले भरतपुर शहरलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउनेछ,” सुवेदीले बताए।

भविष्यमा भूमिगत विद्युतीकरणपछि सडक किनारमा झुन्डिएका तार हट्ने, विद्युत् आपूर्तिमा व्यवधान कम हुने, दुर्घटना न्यून हुने र शहरको सौन्दर्य बढ्ने अपेक्षा गरिएको छ।