काठमाडौं । पेट्रोलियम पदार्थको आयातमा निर्भर नेपालमा वातावरणमैत्री र सस्तो विकल्पका रूपमा हरित कोइलाको प्रयोग सम्भावनाको नयाँ ढोका खोल्न सक्छ। तर प्राविधिक पूर्वाधार अभाव, लागत र जनचेतनाको कमीले यसलाई आम उपभोग्य बनाउन अझै चुनौती बनेको छ।
हरित कोइला उत्पादनमा सक्रिय कुबेरमणि नेपालका अनुसार, हरित कोइला ग्यास र डिजेलको तुलनामा झण्डै ५० प्रतिशत सस्तो पर्छ। तर, बजारमा आवश्यक बर्नर तथा चुल्होको अभाव, प्रारम्भिक खर्च महंगो हुने र जनस्तरमा पर्याप्त जानकारी नहुँदा यसको प्रयोग व्यापक हुन सकेको छैन।
बकस रेन्युएबल इनर्जी कम्पनीमार्फत उत्पादन हुँदै आएको हरित कोइला विभिन्न झारपात, बनमाराका बोटबिरुवा, काठको धुलो तथा अन्य जैविक अवशेषबाट तयार गरिन्छ। यसको प्रयोगका लागि विशेष बर्नर चाहिने भएकाले हाल भारत र चीनबाट बर्नर आयात भइरहेको छ।
कुबेरमणिका अनुसार, यस्ता चुल्हो तथा प्रविधि नेपालमै उत्पादन गर्न सकिने भए पनि सरकारले नीति तथा प्रवर्द्धनको स्पष्ट खाका नल्याउँदा व्यवसाय विस्तारमा कठिनाइ भएको छ।
उद्योग क्षेत्रले हरित कोइलामा चासो देखाए पनि व्यक्तिगत तथा घरायसी प्रयोगका लागि लागत महँगो हुने भएकाले सरकारले अनुदान दिनुपर्ने उनी बताउँछन्।
हरित कोइलाले नेपाललाई आयातित इन्धनमाथिको निर्भरता घटाउन र वातावरणीय सुधारमा योगदान दिन सक्छ। तर यसको लागि नीति निर्माताको ध्यान, प्रविधि विकास र उपभोक्तामाझ व्यापक जानकारी आवश्यक छ।