रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीका मन्त्री दुर्गा बहादुर श्रेष्ठले चलाएको गाडी दुर्घटना भएको छ।
बा १३ च ५३२३ नम्बरको उक्त रेडक्रसको गाडी मन्त्री श्रेष्ठले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेका थिए। उनी लिखु तामाकोसी गाउँपालिका–६ स्थित मावि ज्यामिरेमा विद्यालय व्यवस्थापन समितिको बैठकमा सहभागी हुन पुगेका थिए।
बैठकपछि सोही वडाको खालीटारमा रहेका खिलनारायण श्रेष्ठलाई भेट्न सामानसहित पुगेका मन्त्री श्रेष्ठ फर्कने क्रममा सोमबार दिउँसो खपाङ्गे डाँडामा स्कार्पियो गाडी अनियन्त्रित भई सडकबाट तल मकैबारीमा खसेको थियो। गाडीमा मन्त्री श्रेष्ठ मात्र सवार थिए।
दुर्घटनामा मानविय क्षति भने भएको छैन। गाडी स्थानीय वासिहरूले डोरी, दाम्लो र काठ प्रयोग गरी निकालिएको थियो।
सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग भएको भन्दै सोही वडाका विवेक किरण श्रेष्ठले सामाजिक सञ्जालमार्फत चिन्ता व्यक्त गरेका छन्। साथै, मन्त्रीसँग सवारी चालक अनुमति पत्र समेत नभएको खुलेको छ।
मन्त्री श्रेष्ठले यसअघि पनि रेडक्रसको गाडी निजी कामका लागि पटक–पटक प्रयोग गर्दै आएको पाइएको छ।