आन्दोलनका नाममा निजी क्षेत्रमाथि आक्रमण बढ्दा लगानी र रोजगारी संकटमा

30 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 🏚️ आन्दोलनका नाममा निजी सम्पत्तिमाथि तोडफोड र आगजनीले लगानी वातावरण गम्भीर रूपमा बिग्रँदै
  • 📉 निजी क्षेत्रविरुद्धको नकारात्मक भाष्यले उद्योगीको मनोबल र रोजगारी सिर्जनामा प्रत्यक्ष असर
  • ⚠️ लगानीलाई अपराधझैँ चित्रण गर्ने प्रवृत्तिले आर्थिक विकासमा दीर्घकालीन खतरा सिर्जना
  • ⚖️ राज्यबाट नीति स्थिरता, कानुनको निष्पक्ष कार्यान्वयन र सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता
  • 🤝 निजी क्षेत्र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भएकाले समाज र राज्यको साझा जिम्मेवारी अपरिहार्य

विराटनगर । आन्दोलनका नाममा निजी क्षेत्र लक्षित तोडफोड र आगजनीका घटनाले देशको लगानी वातावरण गम्भीर रूपमा प्रभावित हुँदै गएको भन्दै उद्योगी व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । यस्ता गतिविधिले लगानीकर्ताको मनोबल कमजोर बनाउँदै रोजगारी सिर्जना र आर्थिक स्थायित्वमै प्रश्न उठाएको उनीहरूको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको समन्वयमा उद्योग संगठन मोरङद्वारा आयोजित ‘निजी क्षेत्र प्रश्न, पहिचान र प्रतिबद्धता’ विषयक कार्यक्रममा सहभागी वक्ताहरूले निजी क्षेत्रलाई असुरक्षित बनाउने प्रवृत्तिले दीर्घकालीन आर्थिक विकास अवरुद्ध हुने चेतावनी दिएका हुन् ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले हरेक आन्दोलनमा उद्योग, व्यापारिक प्रतिष्ठान र निजी सम्पत्तिमाथि योजनाबद्ध आक्रमण हुने गरेको बताए । सामाजिक सञ्जालमार्फत निजी क्षेत्रविरुद्ध फैलाइने भ्रामक र उत्तेजक सूचनाले लगानीलाई अपराधका रूपमा चित्रण गर्ने गलत भाष्य निर्माण भइरहेको उनले उल्लेख गरे ।

राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले कर तिरेर, कानुन पालना गरेर आर्थिक विकासमा योगदान दिँदा पनि निजी क्षेत्रप्रति समाजको दृष्टिकोण सकारात्मक बन्न नसकेकोमा चिन्ता व्यक्त गरे । नकारात्मक भाष्यकै कारण उद्योग–व्यवसायमैत्री वातावरण दिनप्रतिदिन कमजोर बन्दै गएको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले निजी क्षेत्र जोखिम वहन गर्ने र मेहनती क्षेत्र भएको उल्लेख गर्दै यसको घट्दो मनोबल उकास्न सरकार र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताए । राज्यका नीतिमा स्थिरता र कानुनको निष्पक्ष कार्यान्वयन निजी क्षेत्रको प्रमुख अपेक्षा भएको उनले स्पष्ट पारे ।

वक्ताहरूले निजी क्षेत्र कुनै व्यक्ति वा वर्गको नभई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भएकाले यसप्रति सम्मान, सुरक्षा र भरोसा आवश्यक रहेकोमा जोड दिएका थिए ।