महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत सिधै खातामा अन्तर्राष्ट्रिय रेमिट्यान्स, काउन्टर धाउने झन्झट समाप्त

205 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा।
  • विदेशबाट पठाउने व्यक्तिको विवरण र MTCN प्रविष्ट गरेर रकम प्राप्ति।
  • अब काउन्टर वा एजेन्ट धाउनु नपर्ने, लाइन बस्नुपर्ने झन्झट समाप्त।
  • १०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीमार्फत सेवा उपलब्ध।
  • विकास बैंकहरूमा पहिलोपटक मोबाइल एपमै यस्तो सेवा सुरु।
  • मोबाइल एप निरन्तर परिष्कृत गर्दै थप सुविधाहरू ल्याइने बैंकको प्रतिबद्धता।

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु गरेको छ।

अब विदेशबाट पठाइएको पैसा लिन ग्राहकहरूलाई बैंक शाखा, रेमिट्यान्स काउन्टर वा पेमेन्ट एजेन्ट धाउनु नपर्ने भएको छ। बैंकले डिजिटल बैंकिङ्ग सेवालाई थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउन यो नयाँ सुविधा ल्याएको हो।

यो सेवा अन्तर्गत विदेशबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर (MTCN) बैंकको मोबाइल एपमा प्रविष्ट गरेपछि सिधै खातामा रकम जम्मा हुन्छ।

बैंकका अनुसार विश्वका १०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीमार्फत पठाइएको रकम सजिलै आफ्नो खातामा प्राप्त गर्न सकिन्छ। यसले ग्राहकहरूलाई समय र श्रमको बचत गर्नुका साथै बैंकिङ्ग अनुभवलाई थप प्रविधिमैत्री बनाउने विश्वास बैंकले लिएको छ।

डिजिटल नवप्रवर्तनको क्षेत्रमा विकास बैंकहरूबीच अग्रणी मानिने महालक्ष्मी विकास बैंक, मोबाइल एपमै यस किसिमको रेमिट्यान्स सेवा उपलब्ध गराउने पहिलो विकास बैंक बनेको छ।

बैंकका अनुसार ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज सेवा दिन मोबाइल एप्लिकेसनलाई निरन्तर परिष्कृत गर्दै लैजाने रणनीति रहेको छ। बैंकले विभिन्न डिजिटल सेवा विस्तार गर्दै आएको र भविष्यमा अझै नयाँ सुविधाहरू थप गर्ने जनाएको छ।

रोजगारी वा अन्य उद्देश्यले विदेश गएका नेपालीहरूले आफ्नो परिवारजनलाई पठाएको रकम अब सहज रूपमा मोबाइल एपको सहायताले घरमै बसेर खातामा प्राप्त गर्न सक्ने भएकाले बैंकको यो पहललाई स्वागत गरिएको छ।

बैंकका ग्राहकहरूले मोबाइल एप अपडेट गरेपछि उक्त सुविधा प्रयोग गर्न सक्नेछन्। डिजिटल बैंकिङ्ग विस्तार र नवप्रवर्तनतर्फ महालक्ष्मी विकास बैंकले गरेको यो कदमले विकास बैंकहरूको प्रतिस्पर्धामा नयाँ आयाम थपेको छ।