सानिमा बैंकको नेतृत्व पवन कुमार आचार्यलाई, नयाँ सीईओले सम्हाले पदभार

30 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 🏦 बैंक : सानिमा बैंक लिमिटेड
  • 👤 सीईओ : पवन कुमार आचार्य
  • ⏳ अनुभव : सानिमा बैंकमा २१ वर्ष
  • 🎓 शिक्षा : अमेरिका र भारतबाट उच्च शिक्षा
  • 💻 विशेषता : कर्जा, डिजिटलाइजेसन, परियोजना वित्त

काठमाडौं। सानिमा बैंक लिमिटेडका नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार आचार्यले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्यलाई सीईओमा नियुक्त गरिएको हो।

२१ वर्षदेखि सानिमा बैंकसँग आबद्ध रहेका आचार्य यसअघि **वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)**को रूपमा कार्यरत थिए। लामो सेवाकालका क्रममा उनले बैंकका १० भन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरिसकेका छन्।

शैक्षिक पृष्ठभूमितर्फ आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तथा भारतको एमएनआईटी, जयपुरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन्। उनले एसएलसी परीक्षा आदर्श विद्या मन्दिर हाई स्कूलबाट बोर्ड तेस्रो श्रेणीमा उत्तीर्ण गरेका थिए।

उनका प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्याङ्कन, डिजिटल बैंकिङ तथा परियोजना वित्त रहेका छन्। साथै उनले सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेडको अध्यक्षका रूपमा समेत सेवा प्रदान गरिसकेका छन्।

बैंकिङ क्षेत्रबाहेक आचार्यसँग इन्जिनियरको रूपमा चार वर्षभन्दा बढी व्यावसायिक अनुभव रहेको छ। उनले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीका रूपमा पनि अध्यापन अनुभव हासिल गरेका छन्।