काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशका उत्कृष्ट अभिकर्तालाई सम्मान गर्ने उद्देश्यले सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। बिर्तामोडस्थित होटल द किंग्सबरीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको लक्ष्यअनुसार बीमाशुल्क संकलन गरी योग्य ठहरिएका ३०० जना अभिकर्ता सम्मानित भएका छन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख तथा कोशी प्रदेशअन्तर्गतका शाखा कार्यालय प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको शुभारम्भ पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब सदस्यता प्रमाणपत्र वितरण गर्नुका साथै सम्मान प्रदान गर्नुभयो। साथै कोशी प्रदेशबाट आफ्नो कोड र सञ्जालमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
यसै अवसरमा कम्पनीको वार्षिक योजना अन्तर्गतको नेशनल अवार्ड योजना अनुसार छनोट भएका नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाईफको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब र नेशनल अवार्ड कार्यक्रममार्फत प्रदेशस्तरमै अभिकर्तालाई सम्मान गर्न पाउँदा कम्पनी गर्वान्वित भएको बताउनुभयो। उहाँका अनुसार देशभरबाट १,६०० भन्दा बढी अभिकर्ता सीईओ क्लबमा छनोट हुनु यस योजनाको सफलताको प्रमाण हो। कम्पनीले आगामी दिनमा पनि अभिकर्तामैत्री र प्रोत्साहनमूलक योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले मोटिभेसनल तालिम प्रदान गर्नुभएको थियो। सहभागी अभिकर्ताहरूले तालिमले थप ऊर्जा दिएको र आफ्नै प्रदेशमा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिएका थिए।