काठमाडौं। चार्टर र नियमित उडानलाई ‘आपतकालीन उद्धार’ देखाएर विदेशी बीमा कम्पनीबाट करोडौँ रुपैयाँ ठगी गरिएको संगठित गिरोह नेपालमै सक्रिय रहेको खुलासा भएको छ। ट्रेकिङ तथा ट्राभल कम्पनी, हेलिकप्टर सेवा प्रदायक, अस्पताल र पर्यटक गाइडको मिलेमतोमा नक्कली उद्धार देखाइ बीमाको रकम असुल्ने गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले जनाएको छ।
आइतबार लाजिम्पाटस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ब्युरोका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले वास्तविक उद्धार नभई योजनाबद्ध रूपमा नक्कली उद्धार देखाएर बीमा दाबी गरिएको पुष्टि गरे। उनका अनुसार नियमित तथा चार्टर उडानलाई उद्धारको रूपमा कागजमा देखाइ बीमाको रकम उठाइएको हो।
अनुसन्धानमा एउटै चार्टर उडानलाई फरक–फरक समय र फरक पर्यटकको उद्धार देखाउँदै ‘मल्टिपल बिलिङ’ गरिएको, उद्धार समय, यात्रु विवरण र मेडिकल कागजात नक्कली बनाइएको प्रमाण फेला परेको छ। पदयात्रा सकेर फर्किने पर्यटकलाई लेक लाग्ने वा स्वास्थ्य जोखिमको डर देखाएर चार्टर उडानमार्फत काठमाडौं ल्याइ त्यसलाई उद्धार देखाइने गरेको पनि खुलेको छ।
२०८१ पुस १ गते परेको उजुरीपछि अनुसन्धान तीव्र बनाइएको थियो। यसअघि २०८२ असोज १२ गते पनि यस्तै प्रकृतिको उजुरी परेको थियो। गृह मन्त्रालयको निर्देशनपछि पछिल्ला तीन वर्षका उद्धार घटनामाथि विस्तृत अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ।
छ जना पक्राउ, तीन कम्पनी केन्द्रमा
नक्कली उद्धारमार्फत बीमा ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ। उनीहरू तीन कम्पनीसँग आबद्ध छन् ।
माउन्टेन रेस्क्यु सर्भिस प्रालि
नेपाल चार्टर सर्भिस
एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालि
यी तीन कम्पनीमार्फत मात्र ३१७ जना पर्यटकको नक्कली उद्धार गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
ब्युरोका अनुसार
माउन्टेन रेस्क्युले १७१ नक्कली उद्धारमार्फत १ करोड ३ लाख अमेरिकी डलर
नेपाल चार्टरले ७५ नक्कली उद्धारबाट ८२ लाख अमेरिकी डलर
एभरेस्ट कम्पनीले ७१ नक्कली उद्धारबाट ११ लाख अमेरिकी डलर
गरी कुल १ करोड ९६ लाख ९० हजार अमेरिकी डलर बराबरको बीमा रकम ठगी गरिएको दाबी गरिएको छ।
बीमा कम्पनी सतर्क, प्रिमियम रोकियो
नक्कली उद्धारका घटना बढ्दै गएपछि विदेशी बीमा कम्पनीहरू आर्थिक जोखिममा परेका छन्। यसकै कारण तीन वटा अन्तर्राष्ट्रिय बीमा कम्पनीले पर्यटक बीमाको प्रिमियम नै रोकिसकेको तथा केही बीमा दाबी अस्वीकारसमेत गरेको CIB ले जनाएको छ।
गम्भीर कसुरमा अनुसन्धान
पक्राउ परेकाविरुद्ध संगठित अपराध, ठगी, लिखत किर्ते, आपराधिक लाभ, राज्यविरुद्धको कसुर र सम्पत्ति शुद्धीकरण अन्तर्गत अनुसन्धान अघि बढाइएको छ। नक्कली उद्धारका कारण नेपालको अन्तर्राष्ट्रिय छवि र पर्यटन क्षेत्रमै गम्भीर असर परेको निष्कर्ष ब्युरोको छ।