काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले उल्लेखनीय वित्तीय सुधार देखाएको छ। कम्पनीको खुद नाफा, बीमा शुल्क संकलन र प्रतिशेयर आम्दानीमा उल्लेख्य वृद्धि भएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा (पुस मसान्तसम्म) प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६२ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ७ लाख ३४ हजार रुपैयाँ मात्र रहेको थियो। यस आधारमा कम्पनीको नाफा ७४७.१५ प्रतिशतले वृद्धि भएको हो।
यस अवधिमा कम्पनीको खुद बीमा शुल्क पनि उल्लेखनीय रूपमा बढेको छ। गत वर्षको पुस मसान्तसम्म १ करोड ३१ लाख रुपैयाँ रहेको खुद बीमा शुल्क २११.७५ प्रतिशतले वृद्धि भई ४ करोड ९ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८ करोड १८ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ७ करोड २७ लाख रुपैयाँ रहेको छ। कम्पनीले यस अवधिमा २ करोड ११ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ।
वित्तीय सूचकहरूमा सुधारसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (EPS) गत वर्षको ०.५६ रुपैयाँबाट बढेर २.३७ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०२.१२ रुपैयाँ रहेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा ५४ लाख रुपैयाँ, महाविपत्ति कोषमा ५ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ३ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।
यस अवधिमा कम्पनीले ६९ हजार ५१६ वटा बीमा पोलिसी जारी गर्दै १७ करोड ५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको बीमा शुल्क संकलन १० करोड ३७ लाख रुपैयाँ रहेको थियो।