काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्म आइपुग्दा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नाफा, आम्दानी र सञ्चालन नाफालगायत प्रमुख सूचकहरूमा उल्लेखनीय सुधार देखिएको हो।
गत आर्थिक वर्षको पुस मसान्तसम्म १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालू आवको सोही अवधिमा ५४ प्रतिशतले वृद्धि गर्दै ३० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
बैंकको खुद ब्याज आम्दानी ९१ करोड ८२ लाख रुपैयाँबाट १८.४९ प्रतिशतले बढेर १ अर्ब ८ करोड ८० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १ अर्ब ५ करोड २४ लाख रुपैयाँबाट वृद्धि भई १ अर्ब २५ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
सञ्चालन नाफामा पनि उल्लेखनीय सुधार देखिएको छ। गत आवको पुस मसान्तसम्म २८ करोड ३२ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालू आवको सोही अवधिमा ५९.३३ प्रतिशतले वृद्धि भई ४५ करोड १३ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ११.४६ रुपैयाँबाट बढेर १६.२१ रुपैयाँ पुगेको छ। यद्यपि, खराब कर्जा (एनपीएल) ४.९९ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १५३.२४ रुपैयाँ रहेको छ।
३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ करोड ४६ लाख रुपैयाँ र रिजर्भ कोषमा १ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकले हाल ४४ अर्ब ४० करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ।