राष्ट्रिय वाणिज्य बैंक डिजिटल बैंकिङ र क्रेडिट स्कोरमा जोड

22 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 🏦 ६१औँ वार्षिकोत्सव सम्पन्न
  • 💳 डिजिटल बैंकिङमा जोड
  • 📊 क्रेडिट स्कोर प्रणालीको आवश्यकता
  • 📱 नयाँ सेवा र शाखा उद्घाटन
  • 🌐 देशव्यापी पहुँच र उपलब्धि

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सव समारोह शनिबार माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा अर्थमन्त्री खनालले ऋणीहरूको मनोविज्ञान बुझेर कर्जा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै ऋणी प्रोफाइलिङ प्रणाली विकासमा जोड दिनुभयो। उहाँले नगद कारोबारभन्दा डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुपर्ने र धितोमा आधारित कर्जा प्रणालीको सट्टा क्रेडिट स्कोरको आधारमा कर्जा प्रवाह गर्न सके उद्यमशीलता, आयआर्जन तथा तिर्न सक्ने क्षमतामा आधारित अर्थतन्त्र निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

सो अवसरमा मन्त्री खनालले बैंकको ६१औँ वार्षिकोत्सव विशेषाङ्क स्मारिका ‘उपहार–२०८२’ विमोचन गर्नुका साथै यस वर्ष सञ्चालनमा ल्याइएका १२ वटा शाखा कार्यालयहरू डिजिटल माध्यमबाट औपचारिक रूपमा उद्घाटन गर्नुभयो। साथै बैंकको नयाँ प्रडक्ट ‘आरबिबि फोन लोन’ को पनि शुभारम्भ गर्नुभयो। कार्यक्रममा बैंकमा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई दीर्घसेवा पदकसहित सम्मान गरिएको थियो।

कार्यक्रममा बैंक सञ्चालक समिति अध्यक्ष देवकुमार ढकालले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई टेवा पुग्ने गरी बैंकिङ सेवा विस्तार गर्दै उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिरहेको जानकारी दिनुभयो।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकको वर्तमान अवस्था र आगामी योजनाबारे जानकारी गराउँदै प्रविधिमा आधारित बैंकिङ सेवा तथा डिजिटल कारोबारलाई प्राथमिकता दिइरहेको बताउनुभयो। उहाँका अनुसार नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार गर्ने बैंक तथा सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा राष्ट्रिय वाणिज्य बैंकलाई पुरस्कृत गरेको छ।

कार्यक्रममा बैंक सञ्चालक समिति सदस्यहरू, नायब प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृत, विभागीय प्रमुख, शाखा प्रबन्धक, कर्मचारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवकै अवसरमा बैंकले केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयमार्फत रक्तदान, स्वास्थ्य शिविर, खेलकुद कार्यक्रम तथा ७७ वटै जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक हाल ७७ जिल्लामा ३१३ शाखा, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटिएम तथा ९९ शाखारहित बैंकिङ सेवा सञ्चालन गर्दै ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। बैंकका अनुसार हाल १९ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता तथा करिब १ लाख ४७ हजार क्यूआर मर्चेन्ट बैंकिङ सेवामा आबद्ध छन्।