काठमाडौं । देश प्रतिनिधिसभा निर्वाचनको संघारमा प्रवेश गरेसँगै राजनीतिक अनिश्चितता क्रमशः घट्दै गएको संकेत शेयर बजारमा देखिन थालेको छ। फागुन २१ गते हुने निर्वाचनका लागि सबै राजनीतिक दलले उम्मेदवारी दर्ता गरिसकेर चुनावी प्रचार–प्रसारमा जुटेपछि बजारमा सकारात्मक मनोविज्ञान बनेको हो।
गत भदौ २३ र २४ गतेको जेन–जी जनआन्दोलनपछि बनेको राजनीतिक परिस्थितिले निर्वाचन सम्भव हुन्छ वा हुँदैन भन्ने अन्योल सिर्जना गर्दा शेयर बजारमा तीव्र गिरावट आएको थियो। तर अहिले निर्वाचनको प्रक्रिया अघि बढेसँगै देशले राजनीतिक निकास पाउने अपेक्षाले लगानीकर्ताको आत्मविश्वास फर्किएको देखिन्छ।
यसैको प्रभावस्वरूप साताभर शेयर बजारमा हरियाली छाएको छ। एक समय ३–४ अर्ब रुपैयाँमा सीमित कारोबार रकम बढेर ११ अर्ब रुपैयाँ नाघ्नुले लगानीकर्ताले बजारमा कन्फिडेन्सका साथ पुनः प्रवेश गरिरहेको संकेत गर्दछ।
पुस ४ गतेदेखि ८ गतेसम्मको एक साताको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७३.१८ अंकले वृद्धि भएको छ। अघिल्लो साताको बिहीबार २६४१.४३ विन्दुमा रहेको नेप्से यस साता २.७५ प्रतिशतले बढेर २७१४.६१ विन्दुमा पुगेर बन्द भएको छ।
चार दिन मात्र कारोबार भएको यस साता नेप्से परिसूचक उच्चतम २७२८ र न्यूनतम २६४० विन्दुबीच घुमेको थियो। तीन दिन बजार बढ्दा एक दिन सामान्य करेक्सन देखिए पनि दैनिक औसतमा नेप्से १८.३० अंकले बढेको छ।
कारोबार रकमतर्फ पनि उल्लेखनीय सुधार देखिएको छ। साताभरमा कुल ३८ अर्ब २५ करोड ८८ लाख रुपैयाँको कारोबार हुँदा दैनिक औसत कारोबार ९ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा ८ करोड २५ लाख कित्ता शेयर किनबेच भएका छन् भने ३ लाख ९४ हजार पटक कारोबार भएको छ।
📊 कुन दिन कस्तो रह्यो बजार ?
आइतबार
साताको पहिलो दिन नै बजारले बलियो सुरुवात गर्यो। नेप्से ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुग्यो। कारोबार रकम ८ अर्ब ४० करोड रुपैयाँ नाघ्यो।
सोमबार
लोसार पर्वका कारण बजार बन्द रह्यो।
मंगलबार
साताकै सबैभन्दा बलियो दिन। नेप्से ४२.२६ अंकले उछाल मार्दै २७१४.८१ विन्दुमा पुग्यो। लामो समयपछि ११ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो।
बुधबार
लगातारको वृद्धिपछि प्रफिट बुकिङ हाबी हुँदा बजार ९.४३ अंकले घट्यो। कारोबार रकम पनि घटेर ८ अर्ब ९२ करोड रुपैयाँमा सीमित रह्यो।
बिहीबार
साताको अन्तिम दिन बजारले पुनः गति समात्यो। नेप्से ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा बन्द भयो। कारोबार रकम ९ अर्ब ७ करोड रुपैयाँ रह्यो।