डिजिटल नेपालको खोजीमा ‘सूचना प्रविधि घर–दैलो यात्रा’: नीति, कानुन र राजनीतिक इच्छाशक्तिको परीक्षा

17 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • चिरन्जीवी अधिकारीद्वारा ‘सूचना प्रविधि घर–दैलो यात्रा’ अभियान सुरु
  • पुराना कानुन र नीतिगत अस्पष्टताले आईटी क्षेत्र प्रभावित
  • डाटा एक्सचेन्ज, डाटा सेन्टर र साइबर सुरक्षामा जोड
  • स्टार्टअप र आईटी कम्पनीका समस्या प्रत्यक्ष दस्तावेजीकरण गरिने
  • २०२६ निर्वाचनमा डिजिटल एजेन्डा समावेश गराउन राजनीतिक दबाब

काठमाडौं। नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र रूपमा विस्तार भइरहेका बेला संरचनागत कमजोरी, पुराना कानुन र नीतिगत अस्पष्टताले यसको पूर्ण सम्भावना उपयोग हुन नसकेको सरोकारवालाहरूले औंल्याएका छन्। यही यथार्थलाई उजागर गर्न क्यान (Computer Association of Nepal) का वरिष्ठ उपाध्यक्ष तथा साइबर सुरक्षा विशेषज्ञ चिरन्जीवी अधिकारी ले ‘सूचना प्रविधि घर–दैलो यात्रा’ अभियान सुरु गरेका छन्।

आफ्नो जन्मदिनको अवसरमा सुरु गरिएको यो अभियानलाई व्यक्तिगत भन्दा पनि नीतिगत हस्तक्षेपको अभियान का रूपमा लिइएको छ। अभियानको मुख्य उद्देश्य आईटी क्षेत्रका वास्तविक समस्या, स्टार्टअपका चुनौती र कानुनी खाडलहरू प्रत्यक्ष रूपमा सरकार, नीतिनिर्माता र राजनीतिक दलहरूसमक्ष पुर्‍याउनु हो।

अधिकारीका अनुसार नेपालमा हाल लागू रहेको विद्युतीय कारोबार ऐन, २०६३ समयानुकूल नभइसकेको छ। कृत्रिम बुद्धिमत्ता, डाटा संरक्षण, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङजस्ता आधुनिक विषयलाई कानुनले स्पष्ट रूपमा सम्बोधन गर्न नसक्दा लगानी र नवप्रवर्तन प्रभावित भएको छ।

अभियानले सुरक्षित डाटा एक्सचेन्ज प्लेटफर्म, राष्ट्रिय स्तरका डाटा सेन्टर, साइबर सुरक्षा नीति, स्टार्टअपमैत्री कर प्रणाली र डिजिटल साक्षरतामा जोड दिएको छ। कम्तीमा १०० आईटी कम्पनी र स्टार्टअपको स्थलगत अध्ययन गरी समस्याहरू दस्तावेजीकरण गरिने जनाइएको छ।

आगामी २०२६ को निर्वाचन लाई लक्षित गर्दै राजनीतिक दलहरूलाई आफ्नो घोषणापत्रमा डिजिटल पूर्वाधार, साइबर सुरक्षा र प्रविधि–आधारित रोजगारीलाई प्राथमिकता दिन दबाब सिर्जना गर्ने अभियानको लक्ष्य रहेको छ।

‘घर–दैलो यात्रा’बाट संकलित सुझावका आधारमा राष्ट्रिय सूचना प्रविधि घोषणापत्र तयार गरी सरकार र शीर्ष नेतृत्वलाई हस्तान्तरण गरिनेछ। अभियानले डिजिटल नेपाललाई कागजबाट व्यवहारमा उतार्न नीति, कानुन र राजनीतिक इच्छाशक्तिमा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।