काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स प्रवर्द्धक तथा नेपाल लाइफ क्यापिटल योजना व्यवस्थापक रहेको नेपाल लाइफ समृद्धि लगानी योजना अन्तर्गतको इकाई बिक्री अवधि माघ १८ गतेसम्म थप गरिएको छ।
यसअघि माघ ८ गते निष्कासन बन्द हुने तालिका रहे पनि पर्याप्त आवेदन नपरेका कारण अवधि थप गरिएको नेपाल लाइफ क्यापिटलले जनाएको छ। साथै, आवश्यक माग परेमा जुनसुकै दिन पनि निष्कासन बन्द गर्न सकिने जानकारी कम्पनीले दिएको छ।
यस योजना अन्तर्गत प्रतिएकाई १० रुपैयाँ दरमा कुल १६ करोड इकाई बिक्रीमा ल्याइएको छ। बीज पूँजीका रूपमा कम्तीमा २ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ, जसअन्तर्गत नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत बराबरको २ करोड २४ लाख इकाई र नेपाल लाइफ क्यापिटललाई १ प्रतिशत बराबरको १६ लाख इकाई छुट्याइएको छ।
बाँकी १३ करोड ६० लाख इकाई भने सर्वसाधारण तथा संघ–संस्थाका लागि खुला गरिएको छ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया आस्वा सेवा मार्फत सहभागी बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयहरू वा ‘मेरो शेयर’ अनलाइन प्रणालीबाट गर्न सकिने व्यवस्था गरिएको छ।